चन्द्रमामा पानी भेटियो, मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता

वीरगञ्ज १० कात्तिक । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी भेटिएको पुष्टि गरेको छ । चन्द्रमाको घमाइलो सतहमा पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता भएको वैज्ञानिकहरुको भनाई छ ।

यसअघि चन्द्रमाको अँध्यारो र चिसो क्षेत्रमा पानी जमेको अवस्थामा पाइएको थियो । पानीको खोज नासाको स्ट्रेटोस्फियर अब्जरभेटरी फर इन्फ्रारेड स्ट्रानोमी (सोफिया) ले गरेको हो । यसको प्रयोग पिउन र रकेट इन्धन उत्पादनका लागि गर्न सकिनेछ ।

चन्द्रमामा पानी भेटिनुको अर्थ चन्द्रमाको घमाइलो सतहमा मानव बस्ती विकास गर्न सकिनेछ ।

यसलाई स्रोतका रुपमा प्रयोग गर्न सकिने वा नसकिने भन्नेबारेमा केही बताउन नसकिए पनि चन्द्रमाका बारेमा थप जानकारी हासिल गर्नका लागि ठूलो उपलब्धी भएको नासाका प्रशासक जिम ब्रिडेनस्टाइनले बताएका छन् ।

स्ट्रटोस्फेरिक अब्जरभेटरी फर इन्फ्रारेड एस्ट्रोनोमी (सोफिया) मा रहेको ठूलो टेलिस्कोपबाट बाफको अवस्थामा रहेको पानी पत्ता लगाउन सहयोग मिलेको वैज्ञानिकहरुले बताएका छन् ।

चन्द्रमाको दक्षिणी ध्रुवमा वाटर मलिक्यूल्सहरु देखिएको र सोफियामा रहेको विशेष प्रकारको इन्फ्रारेड क्यामरा मार्फत वाटर मलिक्यूल्सलाई क्याप्चर गर्न सकिएको नासाले जनाएको छ ।

एक घनमिटर चन्द्रमाको सतहमा १२ बोतल पानी बराबरको वाटर मलिक्यूल्स रहेको पाइएको नासाले जनाएको छ ।

नासाका वैज्ञानिक मिशन निर्देशालयमा एस्ट्रोफिजिक्स विभागका निर्देशक पल हर्ट्जले भने, ‘यसअघि चन्द्रमाको सतहमा सूर्यतर्फको भागमा पानी हुनसक्ने संकेत पाइएको थियो । अब त्यस पुष्टि भएको छ । ययसबाट चन्द्रमाबारेको खोज र अध्ययन थप अघि बढ्नेछ ।

नेचर एस्ट्रोनोमीमा हालै प्रकाशित यो अध्ययनको रिपोर्ट अनुसार चन्द्रमाको यो स्थानको डेटाबाट १ सय देखि ४१२ पार्ट प्रति मिलियनको सान्द्रतामा पानी पत्ता लागेको छ ।

तुलनात्मक रूपमा सोफियाले चन्द्रमामा जति पानी खोजेको छ, त्यो अफ्रिकाको सहारा मरूभूमिमा रहेको पानीको तुलनामा १ सय भाग कम हो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​