“बाल बिद्रोह” (कविता)

दिनेश गौतम :
तिमी कहिल्यै
निद्रा नलागी सुतेका छौ ?
भोक नलागी
जबर्जस्ती खाएका छौ ?
तर
तिमिले सुत भनेपछी
निद्रा नलागे पनि सुत्नु पर्छ
तिमिले “खा” भनेपछि
भोकै नलागेपनि खाइदिनु पर्छ
त्यहाँ नखेल
यो नगर,त्यो नगर
त्यता नजाउ
यो नचलाउ, त्यो नचलाउ
यो लगाउ त्यो नलगाउ
सबै मान्नैपर्छ
तिमिले
जोगीलाई पठाइदिन्छु
भुत आउँछ
उ बिरालो आयो म्याउँ भनेपछी
डराएर निदाएको
अभिनय गर्नुपर्छ
हो
यसकारण पनि
म जवान हुन चाहान्छु ।
त्यो औंला किन चुसेको
गाला पड्काउनु पर्ने हो ?
यत्ति सुनिसक्दा
मैले
मस्तिमा चुस्दै गरेको
आफ्नै औंला निकाल्नु पर्छ
मैले
आफ्नै औंला चुस्दा
चड्कन खानु पर्छ
मैले खेल्दा पनि
होस पुर्याउनु पर्छ
कपडा मैलिन्छ्की भनेर
मैले
कट्टुमै वा ओछ्यानमै
सुसु गरेंभने
सुन्नुपर्छ दसथरी गाली
तिमिलाइ खुसी बनाउन
हाँसिदिनुपर्छ
नाचिदिनु पर्छ
तिमिलाई मनलाग्दा
तिमिसंग खेलिदिनुपर्छ
तिमिले भनेजस्तो नहुँदा
चक्चके र जिद्दी हुन्छु
तिमिले भनेजस्तो हुँदा
ज्ञानी र मायाँलाग्दो हुन्छु
मैले
रमाउन पनि
तिम्रो मुडको ख्याल राख्नुपर्छ
तिम्रो अनुहार पढ्नु पर्छ
हो
यसकारण पनि
म जवान हुन चाहान्छु ।
भनिन्छ
बाल्यकाल र
बुढेसकाल उस्तै उस्तै हुन्छ
तिम्रो बुढेसकालमा
तिमी कम्जोर भएको बेला
यहि समय उल्टाएर
तिमिलाइ आदेश दिएँभने
के महसुस गर्छौ होला ?
मायाँको नाम दिएर
तिमी ठुलाहरुद्वारा गरीने
सबैखाले दमनहरुबाट
स्वतन्त्र हुन चाहान्छु
तिमी संग निर्भर रहे बापत
मैले बाध्य भएर
मान्नु परेका सबै
अमान्य आदेशहरु बाट
मुक्त हुन चाहान्छु
आफ्नो निर्णय
आफै गर्न चाहान्छु
आखिर
सुनकै भएपनी
घोडाले लगाम मन पराउदैन
हो
यस कारण पनि
जवान हुन चाहान्छु ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​