बेलायतमा तहल्का पिट्दै नेपाली सेफः कुनै बेलाका किचन पाेर्टर, बन्न सक्छन् मिसिलिन स्टार

वीरगञ्ज ७ मंसिर । एसएलसीमा फेल भएपछि सन्तोष साह निराश बने । रोजीरोटीका लागि उनी भारतको गुजरात पुगे । किचन पोर्टरदेखि हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेका साह त्यस क्षेत्रमा अब्बल रूपमा उत्तीर्ण भएका छन् । बीबीसीले आयोजना गरेको ‘मास्टर सेफ प्रोफेसनल्स’ काे सेमिफाइनलमा प्रवेश गरेका उनी नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्ने योजनामा छन् । नेपाली परिकारहरू नै पस्किएर सेफहरूका लागि सबैभन्दा ठूलो अवार्ड मिसिलिन स्टारमा भिड्नका लागि उनी जुटेका छन् ।

सिराहाको कर्जन्हामा जन्मिएका सन्तोष साहले १५ वर्षको उमेरमा गुजरातको लाइन हिल्स रिसोर्टमा किचन पोर्टरको रूपमा काम थाले । तीन महिनाजति किचन पोर्टरको काम गरेपछि उनले आफूलाई हेल्पर सेफ बनाइदिन हेड सेफसँग आग्रह गरे ।

हेड सेफले उनको आग्रह स्वीकार गरेपछि साहको सेफ यात्रा सुरु भएकाे हाे । ‘सुरुमा मैले तीन महिना भाँडा माझेँ, त्यसपछि एक वर्ष हेल्पर सेफको रूपमा काम सुरु गरेँ’, सन्तोष आफ्ना संघर्षका सुरुवाती चरणको स्मरण गर्छन् ।

त्यहाँ एक वर्ष काम गरेपछि उनी गुजरातकै बरोडमा भन्ने ठाउँमा पुगे । व्यावसायिक सेफ बन्नका लागि पढ्नुपर्ने कुरा उनले थाहा पाए । र, सूर्या कलेज अफ होटल म्यानेजमेन्टमा उनले डिप्लोमा कोर्स पढ्न थाले । बरोडमा एउटा भवनको माथि कलेज थियो, तल होटल थियो ।

पढाइको समय सकिएपछि सन्तोष त्यही भवनको होटलमा काम गर्थे । दुई वर्षमा उनको पढाइ पनि सकियो र सीप पनि निखारियो । डिप्लोमा तहको अध्ययन सकेपछि उनले सन् २००७ मा गुजरातस्थित गान्धीधाममा कार्यकारी सेफका रूपमा काम थाले ।

त्यसको एक वर्षपछि उनी युरोपको मोन्टिनेगराे पुगे । त्यहाँ काम गर्ने उचित वातावरण नभएपछि फेरि उनी भारत नै फर्किए । भारतमा उनले बनाएका परिकारले निकै प्रशंसा बटुल्न थाल्यो । उनी इन्डिया टुडेमा फिचर्ड भए । टीभीमा पनि उनको कौशलता देखाइयो । संयोग, पत्रिका र टीभीमा उनको सीपको समाचार लण्डन निवासी सचिन देशाईले हेरेका रहेछन् ।

छुट्टीमा भारत आएका उनले सन्तोषसँग सम्पर्क गरे र तुरुन्तै भेट्न बाेलाए । बेलुकी १० बजेसम्म होटलमा काम गरेर साइकलमा २ घन्टाको दूरी पार गर्दै उनी देशाईलाई भेट्न पुगे । त्यसपछि उनको लण्डन यात्रा तय भयो । ‘दुुई घन्टा साइकल चढेर म उनलाई भेट्न गएँ। मेरो वैयक्तिक विवरण हेरेर उनले लण्डन लाने प्रस्ताव गरे, त्यो पनि उनकै खर्चमा । मैले प्रस्ताव सहर्ष स्वीकार गरेँ’, सन्तोषले सम्झिए ।

लण्डन पुगेर उनले ‘स्पाइसी अफेयर’मा केही समय काम गरे। डावाजस्तो रेस्टुरेन्टमा धेरै समय काम गरेर उनले समय खेर फाल्न चाहेनन् । र, अन्यत्रै जाने निधो गरे । त्यसपछि उनले श्रम अनुमति लिएर भिसा पनि थपे । केही दिनपछि मिसिलिन स्टार प्राप्त एक सेफको रेस्टुरेन्ट द बेनारसमा कामका लागि विज्ञापन आयो ।

उनले आवेदन दिए र छनाेट पनि भए। २ वर्ष उनले त्यहाँ काम गरे। त्यो रेस्टुरेन्ट फ्रेन्च खानाबाट प्रेरित थियो। दुई वर्ष त्यहाँ काम गरेपछि उनले फ्रेन्च खानामा थप सीप तिखार्ने निर्णय लिए । र, उनी फ्रेन्च खानाका लागि गडफादर मानिने रेम्डन ब्लाङ्कको रेस्टुरेन्टमा पुगे । एक वर्ष त्यहाँ काम गरेपछि उनी सिनामन कलेक्सन गुपमा प्रवेश गरे । ती वर्ष त्यस ग्रुपमा आवद्ध भएपछि उनले बेलायतमा रहेको पाँचतारे होटल ललितमा एक वर्षसम्म कार्यकारी सेफको रूपमा काम गरे ।

सिनामन ग्रुपमा काम गरिसकेपछि सन्तोषको त्यस ग्रुपका हेड तथा इन्डियन खानाका गडफादर मानिने विवेेक सिंहसँग राम्रै सम्बन्ध बन्यो । उनले सिंहसँग ‘मास्टर सेफ प्रोफेसनल्स’ मा जाने कुरा सुनाए । त्यहाँ उनले इन्डियन वा फ्रेन्च परिकार पस्किने कुरा गरेका थिए ।

तर, विवेक सिंहले सन्तोषको कुरालाई नकारे र नेपाली परिकार पस्किन सुझाव दिए । यसबीचमा उनले नेपाली खाना अन्तर्राष्ट्रियकरण गर्ने लक्ष्य लिएका नेपाली सेफको लेख पनि पढे । विवेक सिंहको सुझाव र ती नेपाली सेफको लक्ष्यबाट प्रेरित हुँदै उनले प्रतिस्पर्धामा नेपाली स्वादको खाना पस्किने निधो गरे ।

त्यसका लागि उनले पाँच वर्षदेखि मिहिनेत गरेका थिए। १० वर्षअघिदेखि त्यस शोमा आवश्यक पर्ने समय व्यवस्थापनको कौशलता, खाना पस्किने तरिकाका विषय रटेका थिए । ‘यो शोमा आउनुभन्दा पाँच वर्षअघिदेखि नै मैले तयारी थालेको थिएँ, प्लेटिङ, समय व्यवस्थापन, स्वादलगायतमा मैले धेरै मिहेनत गरेको थिएँ’, सन्तोष भन्छन् ।

उनले नेपाली सेफहरूसँग सल्लाह पनि लिएका थिए। खानामा आवश्यक पर्ने नेपाली मसलन्द झिकाउने काम पनि गरे । त्यसपछि नेपाली मौलिक स्वादमा फाइन डाइनिङ परिकार प्रतिस्पर्धामा पस्किए। फेब्रुअरीबाट सुरु भएको प्रतिस्पर्धामा चार जना सेफहरूसँग प्रतिस्पर्धा गर्दै उनी सेमीफाइनलमा पुगेका छन् ।

त्यस प्रतिस्पर्धामा उनले टिम्मुरले साँधेको अक्टुपस, सिस्नु र आलुको तरकारी, भाङ्को चट्नी, झानेको दही बनाएका थिए । यस्तै पोलेको भेडाको मासु, खसीको मासुको झोल, बेथुको साग, तामाको अचार, कुर्कुरे चिप्ली भिन्डी, माछा र रोटी बनाएका थिए ।

‘तराईमा हुँदा माछा पोलेर रोटीसँग खुब खाइन्थ्यो । त्यही स्वाद पस्किनका लागि मैले माछालाई आँटामा मोलेर लेमन ग्रासमा बेरेर बेक गरेँ र जंगली ब्रेडको नाम दिएँ । जजहरूले असाध्यै मनपराइदिनुभयो’, सन्तोष सुनाउँछन् ।

खाना पस्किने तरिका (प्लेटिङ) र खानाको स्वादको निर्णायकहरू मनिका ग्ल्याटिली, मर्कोस विनीले खुबै तारिफ गरेका छन् । ‘प्लेटिङकाे यो सबैभन्दा उत्कृष्ट नमुना हो र खाना निकै मनमोहक देखिन्छ’, निर्णायकद्वयको प्रतिक्रिया थियो ।

प्रतिस्पर्धाको उपाधि जित्ने तयारीमा सन्तोष अहिले लागिपरेका छन् । २० हजार रेस्टुरेन्ट रहेको बेलायतका टप १० सेफमध्ये सन्तोष पनि एक हुन् । अब उनकाे धोको छ, नेपाली परिकारबाटै मिसिलिन स्टार हत्याउने । त्यसका लागि पनि उनले मिहिनेत गरिरहेका छन् । ‘हिरो हिरोइनहरूका लागि अस्कर भनेजस्तै हो, सेफहरूका लागि मिसिलिन स्टार । नेपाली मौलिक स्वाद नै पस्किएर म त्यस उपाधि पाउने अपेक्षामा छु’, उनले भने ।

नेपाली परिकारका लागि उनले नेप्लिज फाइन डाइनिङ कुक बुक पनि लेखिरहेका छन् । त्यसमा उनले विभिन्न परिकारका रेसिपी र बनाउने तरिकाबारे उल्लेख गर्नेछन् । किचन पोर्टरबाट मिसिलिन स्टारसम्मको यात्रा तय गर्न लागेका सन्तोष दृढ संकल्पका साथ काम गरे सफलता सुनिश्चित हुने बताउँछन् । ‘मिहेनत र लगावले लक्ष्यमा निश्चय पनि पुर्‍याउँछ’, उनी भन्छन् ।

नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्ने लक्ष्य लिएका सन्तोषले केही महिनाभित्रै बेलायतमा नेपाली परिकारको फाइन डाइनिङ रेस्टुरेन्ट आइला बाइ सन्तोष खोल्ने तयारी गरेका छन् ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​