ग्रामिण क्षेत्रमा मनपरी भाडा असुल, ३ जना बस्ने अटोमा ६ जना बस्दा पनि प्रहरी मौन

बीरगन्ज, १६ मंसिर – लकडाउन खुकुलो भएर सवारी साधन सञ्चालनमा आएसँगै पर्साको ग्रामिण क्षेत्रमा चल्ने सवारीको भाडादर मनपरी रुपमा लिने गरेको यात्रुहरुले बताएका छन् ।

पर्साको पोखरिया, भिस्वा लगायतका ग्रामिण क्षेत्रमा सञ्चालन हुने अटो, इ रिक्सा, टेम्पोको भाडादर पहिलेको लनामा आकाशिएको यात्रुको गुनासो छ । वीरगञ्जदेखी पोखरियासम्म १९ किलोमिटरको दुरीमा ५० रुपैयाको भाडा लिने गरेकोमा अहिले ८० रुपैया लिने गरेको सर्वसाधारणले बताएका छन् ।

त्यसैगरी पोखरियादेखि भिस्वासम्म ११ किलोमिटरको दुरीमा पनि ५० रुपैया भाडा बढाएर ८० रुपैया तिरेर यात्रुहरु आवतजावत गर्न बाध्य छन् । ग्रामिण क्षेत्रमा चल्ने सवारीचालकहरुसँग निश्चित भाडादर तोकिएको विवरण पनि नभएको स्थानीय बताउँछन् ।

नेपाल सरकारले अटोमा ३ जनालाई मात्रै बस्ने भनेतापनि ६ जनासम्मलाई बसाएर ओहोरदोहोर गराउने र भाडा काटेको पुर्जि समेत नदिने गरेको स्थानीय महिला उम्राउती देवीको भनाई छ । पुर्जि माग्दा उल्टै गाली गलौज गरेको देबीले बताउनुभयो ।

नियमविपरित ६ जनालाई अटोमा चढाउँदा पनि प्रहरी प्रशासन र ट्राफिक प्रहरीले कुनै कारवाही तथा अनुगमन नगरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । प्रहरी प्रशासन मौन बस्नुमा कतै सवारी चालकसँगको मिलेमतो पो छ की भन्ने आशंका पनि आम नागरिकमा पैदा भएको छ ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​