जनकपुरधाम – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार प्रदेश भित्रका धार्मिक सांस्कृतिक धरोहरहरुको संरक्षणमा प्रतिबद्ध रहेको बताएका छन् ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको बनौली विद्यापति डिहस्थित लक्ष्मी सागर पोखरी सौन्दर्यीकरणको एक कार्यक्रम बिच शिलान्यास गर्दै मुख्यमन्त्री राउतले पहिचानको आन्दोलन बलमा स्थापित प्रदेश सरकार प्रदेश भित्रको धार्मिक, सांस्कृतिक सम्पदाहरुको संरक्षणमा कुनै कसर बाँकी नराख्ने बताए ।
जानकी मन्दिरको सौन्दर्यीकरण बाट आफनो अभियान शुरु गरेको प्रदेश सरकारले विद्यापति डिह, छिन्नमस्ता भगवती, रौजा मजार लगायतका धार्मिक सांस्कृतिक सम्पदाहरुको संरक्षणमा प्रदेश सरकार स्थापनाकालदेखि नै कार्य गर्दै आएको मुख्यमन्त्री राउतले बताए ।
मुख्यमन्त्री राउतले लक्ष्मी सागरको सौन्दर्यीकरण कवि विद्यापतिको बनौली प्रवासलाई तरोताजा गराउने उल्लेख गर्दै विद्यापतिको कृतिहरुको संरक्षणमा समेत प्रदेश सरकार अघि बढ्ने जानकारी दिए ।