भोजपुरी प्रतिष्ठान वीरगञ्जको भवन शिलान्यास, प्रतिष्ठानका लागि महानगरद्वारा ५० लाख बिनियोजन, स्थानीय तहमा पनि मातृभाषाको प्रयोग गर्नुपर्नेमा वक्ताहरुको जोड

वीरगञ्ज —  अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा वीरगञ्जमा बहुभाषिक कवि सम्मेलन तथा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । भोजपुरी प्रतिष्ठान वीरगञ्जको आयोजना र वीरगञ्ज महानगरपालिकाको सहकार्यमा भोजपुरी प्रतिष्ठान वीरगञ्जको भवन शिलान्यास गरिएको हो ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख एवम् प्रतिष्ठानका संरक्षक विजय कुमार सरावगीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउतले भवनको शिलान्यास गर्नुभएको हो । भवनको शिलान्यास गर्दै मुख्यमन्त्री राउतले भोजपुरी प्रतिष्ठानले भोजपुरी भाषाको संरक्षण, संवद्र्धन र जगेर्ना गर्ने विश्वास व्यक्त गर्नुभयो । कुनै समुदायको इतिहास मेटाउनु छ भने भाषा सँस्कृति र कलालाई खत्तम पारिने गरेको बताउँदै उहाँले नेपालमा पनि नेपाली भाषालाई बाहेक अन्य भाषाप्रति राज्यको दृष्टिकोण ठीक नरहेको बताउनुभयो ।

उनले प्रदेशमा बोलिने सबै भाषा, सँस्कृति, कला साहित्यको संरक्षणका लागि स्थायी संरचना बनाउने र वीरगञ्जमा भोजपुरी साहित्यका भीष्म पितामहको रुपमा परिचित पण्डित दीपनारायण मिश्रको सालिक बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।राउतले मातृभाषा आमाको दूध र अन्य भाषा डेरीको दूध जस्तो रहेको टिप्पणी गर्नुभएको छ ।

त्यस्तै प्रदेश न. २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले भोजपुरी भाषा प्रदेश २ को पहिचान भएको बताउँदै पहिचानको संरक्षणका लागी प्रदेश सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । भोजपुरी भाषाको अधिकतम प्रयोगबाट मात्रै विकास हुने मन्त्री सोनलको भनाई छ ।

त्यसैगरी पर्सा क्षे न. १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले भोजपुरी गीत संगितमा देखिएको विकृति तथा विसंगतीको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा पर्सा क्षेत्र न. ३ का प्रतिनिधि सभा सदस्य हरीनारायण रौनियारले प्रदेश २ का स्थानीय तहले कामकाजको भाषा भोजपुरी बनाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले संघिय सरकारको हस्तक्षेपका कारण अहिलेसम्म प्रदेश २ को नामाकरण समेत हुन नुकेको रौनियारको आरोप छ । क्षेत्र न. ४ का लक्ष्मणलाल कर्णले नेपाली भाषीहरु शासन सत्तामा रहेर भोजपुरीलाई दवाएर राखेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अन्सारी, प्रह्लाद गिरी, करिमा बेगम, भिमा यादब, नेपाली काङ्ग्रेस पर्साका सभापति अजय दिवेदी, जसपा पर्साका अध्यक्ष रामनरेश यादब, नेकपा पर्साका अध्यक्ष प्रभु हजारा, पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कवि तथा कवियत्रीहरुले विभिन्न भाषामा रचनाहरु बाचन गरेका थिए ।

यसैविचवीरगञ्ज महानगरपालिकाले भोजपुरी प्रतिष्ठानका लागि ५० लाख रुपैयाँ छुट्ट्याएको छ । महानगरपालिकाले नै भोजपुरी साहित्यकार उमाशंकर द्विवेदी संयोजकत्वको ९ सदस्यीय भोजपुरी प्रतिष्ठान वीरगञ्ज गठन गरेको थियो । त्यसका लागि वीरगञ्ज महानगरपालिकाले ‘भोजपुरी प्रतिष्ठान ऐन’ नै जारी गरेको छ ।

भोजपुरी भाषालाई सर्व स्वीकार्य, कामकाजी भाषा बनाउन, विद्यालयमा पठनपाठन गराउन तथा कला, भाषा साहित्यको सम्वर्द्धनमा प्रतिष्ठानले काम गर्ने महानगरका नगर प्रमुख विजय कुमार सरावगीले बताउनुभयो । प्रतिष्ठानका लागि डीपीआर अन्तिम चरणमा रहेको बताउँदै उहाँले सबैको सहयोगले प्रतिष्ठानलाई अघि बढाउने आश्वासन दिनुभयो ।

भोजपुरी साहित्यकार पण्डित दिपनारायण मिश्रको स्मृतिमा १ लाख नगद सहितको अन्तर्राष्ट्रिय पुरस्कारको समेत आज घोषणा गरिएको छ । प्रतिष्ठानका अध्यक्ष द्विवेदीले हिन्दी, नेपाली भन्दा भोजपुरी भाषा निकै पुरानो भाषा भएको बताए ।

कविरदासले भोजपुरीमा कविता लेख्ने गरेको बताउँदै उहाँले नेपालमा नेपालीलाई स्थापित गर्न राज्यले भोजपुरी, मैथली र अवधी भाषालाई दवाएर राखेको बताए । प्रतिष्ठानका लागि वीरगञ्ज महानगरले वडा नं ८ रेल्वे रोडमा १ हजार वर्ग फिटको जमिन उपलब्ध गराएको छ । जसमा प्रतिष्ठानको तीन तले भवन बनाउन लागिएको छ ।

भवनको भुइँ तला व्यवसायिक प्रयोजनमा भाडामा लगाउने, पहिलो तल्लामा आधा भागमा प्रतिष्ठानका पदाधिकारी कक्ष, विभिन्न विभाग र बैठक हल, दोस्रो तलामा ३ हजार ४ सय वर्गफिटको हल र तेस्रो तलामा नाट्य, संगीत, कला सम्बन्धित संरचना रहने गरी डीपीआर तयार भइरहेको प्रतिष्ठानका सदस्य रितेश त्रिपाठीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​