ड्राइपोर्ट र आइसिपीबीचको ६२ बिघा जग्गाको मुआवजा वितरणमा ढिलाइ

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसिया ड्राइपोर्ट भन्सार र आइसिपी भन्सारबीचको ६२ बिघा जग्गाको मुआवजा वितरणमा ढिलाइ भइरहेको छ ।

ड्राइपोर्ट भन्सार र आइसिपी भन्सारबीचको ६२ बिघा जग्गामा दुईवटा सरकारी कार्यालयबीच तालमेल नमिल्दा ढिलाइ भइरहेको स्थानीयवासीले बताएका छन् ।मुआवजा वितरणमा श्रीसिया सुक्खा बन्दरगाहले हस्तक्षेप गरी आवेदन सङ्कलन गर्ने र सोअनुरूप कार्यसम्पादन नगरेको कारण मुआब्जा वितरणमा ढिलाइ भइरहेको बुझिएको छ ।

गत माघ ७ गते जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना प्रकाशित गर्दै अधिग्रहणमा परेका ९ सय ९९ जनालाई ३० दिनभित्र आवेदन दिन सूचना प्रकाशित गरेको थियो ।तर मुआवजा तथा क्षतिपूर्ति निर्धारण समितिकहाँ निवेदन दिनुपर्नेमा श्रीसिया सुक्खा बन्दरगाह भन्सारका प्रमुख डा लालबहादुर खत्रीले हस्तक्षेप गरी उक्त मुआब्जाका निवेदनहरू ड्राइपोर्ट भन्सारमा सङ्कलन गरी मालपोत कार्यालयमा फाइल पठाएपछि ड्राइपोर्ट भन्सारको नाममा पुर्जा बनेपछि मात्र जिल्ला प्रशासन कार्यालयलाई भुक्तानीको लागि पत्राचार गर्ने शर्तमा काम शुरू गरिएको थियो ।तर ड्राइपोर्ट भन्सारका प्रमुख खत्रीको उदासीनताको कारण फाइल पठाउन ढिलाइ भएको छ भने अर्कोतर्फ मोठ भिडाइ पुर्जा बनाएर पठाइएका फाइलहरूको भुक्तानीका लागि सिफारिश गर्न पनि मालपोत कार्यालय, पर्साले ढिलाइ गरेको देखिएको छ ।

मालपोत कार्यालय, पर्साका अनुसार जनशक्ति अभावले एक महीना बितिसक्दा पनि सोचेअनुरूप पुर्जा बन्न नसकेको जनाएको छ। ६२ बिघामध्येमा खेत र सरेहको करीब १५ बिघा जतिको मोठ भिडाएर कित्ता मिलान गरी ड्राइपोर्ट भन्सारको नाममा पुर्जा बनाइदिन सिफारिश भइसकेको र बाँकी काम सकाउन कम्तीमा दुई महीना जति समय लाग्ने मालपोत पर्साका कर्मचारीहरूको भनाइ छ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​