२४ घण्टा नबित्दै कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु

२४ घण्टा नबित्दै कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ । जसमध्ये बाँकेमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार गएराति यता नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा चारजना संक्रमितको मृत्यु भएको छ ।

कैलालीमा थप तीन जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले संचालन गरेको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा बझाङका २६ बर्षीय पुरुष, बर्दियाका ३० बर्षीय पुरुष र धनगढीका २२ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका डाक्टर दीलिप श्रेष्ठले जानकारी दिनुभयो ।

पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेशनल मेडिकल कलेज कोरोना अस्पतालमा उपचार गराइरहेका ३४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनुभयो ।

बागलुङमा कोरोना संक्रमणका कारण स्थानीय जनप्रतिनिधिको मृत्यु भएको छ । ताराखोला गाउँपालिकाकी सदस्य ३० वर्षीया महिला जनप्रतिनिधिको उपचारका क्रममा गएराति धौलागिरी अस्पतालमा मृत्यु भएको हो । भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् ।

यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।मकवानपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का ४१ वर्षिया एक महिला रहेकी छिन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको कोभिड–१९ अस्पतालमा उपचाररत उनको आज विहान मृत्यु भएको हो ।

यस्तै उपचारका लागि ६ दिन अघि काठमाडौँबाट झापाको बिएण्डसी अस्पताल लगिएका कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।
यसैगरी कोरोना संक्रमणबाट सल्यानमा दुई र धरानमा एक संक्रमितको मृत्यु भएको छ । सल्यान अस्पतालमा उपचाररत बागचौर नगरपालिका निवासी ७० वर्षीय एक पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।

अस्पतालले अक्सिजन दिएर उपचार गरे पनि उपचारकै क्रममा संक्रमितको ज्यान गएको अस्पतालले जनाएको छ । यस्तै अक्सिजनको मात्रा कम भएपछि उपचारका लागि सोमबार सल्यान अस्पताल पुगेका शिद्धकुमाख गाउँपालिका निवासी ३५ वर्षीय पुरुषको अवस्था गम्भीर भएपछि प्रदेश अस्पताल पठाइएकोमा सोमबार राति नै ती पुरुषको पनि ज्यान गएको छ ।

त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररार्थ सप्तरीका एक संक्रमितको आज मृत्यु भएको छ । सप्तकोसी नगरपालिकस्थित श्री रास्ट्रिय माविमा कार्यरत कार्यरत शिक्षकको मृत्यु भएको हो । यस्तै हेटौडामा आज बिहान थप एकजना संक्रमितको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​