जाडो भगाउने काइदा : न्यानो कपडासँगै तातो झोलिलो सुप र तेल मसाज

जाडो बेलामा शरीरमा बढी ऊर्जाको जरुरत पर्छ । त्यसकारण यस्तो बेलामा बढी ऊर्जा दिने खानेकुरा खाने गर्नुपर्छ । ऊर्जायुक्त खानेकुरामा ठाउँ हेरेर त्यसको व्यवस्था गर्न सकिन्छ । जस्तै तराईमा गहुँ, चामल तथा दाल, तरकारी खानुपर्छ । हामीले जाडोमा विशेष गरी तातो खानेकुरा खाने गर्नुपर्छ ।

हामीले जाडोमा जे खाए पनि विशेष गरी बच्चाहरु र बुढाबुढीहरुलाई जाडोले शरीरको तापक्रम कम भइसकेपछि निमोनिया हुनसक्ने हुनाले तातो खानेकुरा र लुगा पनि न्यानो, तातो आउने खालको लगाउने गर्नुपर्छ।

तराईमा शीतलहरले मान्छेको ज्यान जाने नभइ व्यवस्थापन गर्न नसक्दा मान्छेको ज्यान जाने हाे । त्यसकारण भान्सामा भएका तातो खानेकुरा खाने र वृद्ध र बालबालिकालाई न्यानो लुगा लगाइदिने कुरामा विशेष ध्यान दिनुपर्छ ।

टाउको र खुट्टाबाट चिसो चाँडो छिर्ने हुनाले हाम्रो हजुरबा, हजुरआमाले पहिलेदेखि नै टाउको र खुट्टा तातो बनाउनु पर्छ भन्ने गर्नुभएको हो । त्यसकारण टाउको र खुट्टालाई चिसोबाट राम्रोसँग जोगाउनु पर्छ ।

बालबालिकालाई विशेष गरी कोदोको सुप, फापरको सुप, गुन्द्रुक, भटमास, आलुको सुप जस्तो तातो झोलिलो तथा दाल, भात, तरकारी र रोगसँग लड्न सक्ने प्रतिरोध क्षमता भएका भिटामिन ‘सी’ युक्त खानेकुरा खाने गर्नुपर्छ । यसमा कागती, अमला, गुन्द्रुक जस्ता खानेकुरा खाने गर्नुपर्छ । जुन सजिलै घरमै उपलब्ध हुने र पैसा धेरै खर्च नहुने पनि हुन्छ ।

अर्को कुरा जाडो मौसममा चिसो नलागोस् भनेर घरभित्र दाउरा, मकल, ग्याँस बालेर बस्दा हावा आउने–जाने ठाउँ नहुँदा आगोबाट निस्किएको कार्बनमोनोअक्साइडका कारण निधन पनि हुने गरेको छ । त्यसकारण यस्ता कुरामा सजग रहेर कोठामा हावा जाने ठाउँ राखेर मात्र आगो बाल्नुपर्छ ।

हामीले अहिले सुपका नाममा धेरै पैसा हालेर तयारी सुप किनेर ल्याउँछौँ । त्यसमा के के हालिएको छ पनि हामीलाई थाहा हुँदैन । गहत जो ऊर्जायुक्त, पोषणयुक्त तथा विभिन्न सुक्ष्म पोषक तत्त्वयुक्त हुन्छ यसको दाल बनाएर खाँदा हाम्रो खर्च पनि धेरै नहुने र जाडोमा धेरै नै फाइदा हुन्छ ।

हामीले पहिलेदेखि हेपेर जात फाल्नु गहतको झोलमा भनेर गहतलाई निकृष्ट खानेकुरा बनाएका छौँ। तर, गहतलाई पिसेर सुप बनाएर खान सकिन्छ, विभिन्न दालमा मिलाएर पनि खान सकिन्छ । जुनसुकै खाद्य वस्तुमा मिलाएर खाए पनि गहतले फाइदा गर्छ । गहतलाई त्यसकारण पनि हामी विशेष खानेकुरा अर्थात सुपर फुड पनि भन्ने गर्छौँ ।

गुन्द्रुक, भटमास तथा आलु उमालेर भात, ढिँडो तथा रोटीसँग खाँदा शरीरमा ऊर्जा दिने, सुक्ष्म पोषकत्त्व दिने तथा स्वादिलो पनि हुन्छ ।

हामीले बजारका चाउचाउ तथा अन्य सुप खाँदा त्यसमा पैसा बढी खर्च हुने गर्छ । पैसा खर्च गरे पनि त्यसले शरीरमा ऊर्जा तथा पोषक तत्त्व भने दिने काम गर्दैन । बरु अन्य विभिन्न रासायनिक पदार्थ शरीरमा हालेर रोग लगाउने काम गर्छ ।

यसकारण पनि अहिले जाडोमा हामीले घरकै तातो खानेकुरा जस्तै तातो दूध, कागती र मह हालेको चिया, दही, अमिलो मोही छ भने त्यसमा बेसन हालेर कडीको सुप बनाएर खान सकिन्छ । हामीसँग सहजै सस्तो रुपमा उपलब्ध हुने यति धेरै खानेकुरा छन् जुन बालबालिका, वृद्धवृद्धा तथा अन्य आवश्यक पर्ने मान्छेलाई खान दिँदा स्वास्थ्यमा धेरै नै फाइदा हुने गर्छ ।

हामीसँग यति धेरै खानेकुरा छन् भन्दैमा गरिबसँग नहुन सक्छ त्यस्तालाई स्थानीय सरकारले व्यवस्था गर्ने गर्नुपर्छ । तराईमा आगो ताप्नका लागि दाउरा दिने, घुर बाल्ने व्यवस्था गर्ने, न्यानो कपडाहरु दिने गर्नुपर्छ । यस्तो व्यवस्था जाडो हुनु अगावै गर्नुपर्छ नत्र अहिले जस्तो पानी परेपछि दिन्छु भन्दा चिसोले वृद्ध तथा बालबालिका बिरामी हुने तथा मृत्यु नै हुने पनि हुन्छ ।

पुष, माघमा चिसो हुन्छ भन्ने हाम्रा स्थानीय सरकारलाई थाहा छ । तराईमा शीतलहर हुन्छ भन्ने थाहा छ । शीतलहरले मान्छे मर्ने होइन गरिबीले मर्ने हो ।

गरिबका लागि आय आर्जनको लामो कार्यक्रम होला तर, तत्कालका लागि चाहिने अत्यावश्यक वस्तुको व्यवस्थामा भने स्थानीय सरकारले ध्यान पुर्याउनु पर्ने देखिन्छ ।

यो चिसोमा महिलाहरुले आफूले मात्र काम गर्ने होइन घरका पुरुषहरुलाई पनि काम गर्न लगाउनु पर्छ । केटा मान्छे भने आगो तापेर बस्ने अनि महिलाले भने काम गर्ने गर्न थाल्यो भने महिला बिरामी पर्न सक्छन् ।

घरका आमा, श्रीमती, महिला दिदी–बहिनी बिरामी नपरुन् भन्नका लागि पनि पुरुषले घरमा भाँडा माझ्ने, तरकारी किनेर ल्याउने, केलाउने आदि गरेर सघाउन सक्छन् । बालबालिकालाई खाना खुवाइदिने, स्याहारसुसार गर्ने काममा सघाउँदा महिलाको काम आधा हुनजान्छ जसले महिलाको स्वास्थ्य पनि सुरक्षित हुनजान्छ ।

सिमेन्ट लगाएको भान्सामा कतिपय महिलाले जुत्ता नलगाइ काम गर्दा खुट्टाबाट चिसो पसेर बिरामी हुनसक्छन् । त्यसैले भान्सामा लगाउने जुत्ता लगाउने गर्नुपर्छ । अनि चिसोले हातखुट्टा फुट्ने हुँदा घरमा उपलब्ध भएका तोरीको तेल, घ्यू, दूधको तर लगाएर पनि चिसोबाट बचाउन सकिन्छ ।

बच्चाहरुको पनि हातखुट्टा तथा गाला, ओठ फुट्दा महँगो क्रिम नभएर घरमा भएको चिल्लो पदार्थ लगाउने गर्नुपर्छ ।

हामीले वृद्धवृद्धा तथा बालबालिकालाई जाडोमा जोगाउनका लागि विशेष गरी तातो, न्यानो कपडा पनि लगाइदिने गर्नुपर्छ । किनकि उनीहरुको शरीरको तापक्रम चिसोले चाँडै घट्ने हुन्छ ।

बच्चाहरुलाई राति सुत्दा तातो तेल लगाइदिने अनि वृद्धहरुलाई हट वाटर ब्यागमा पानी राखेर ओच्छ्यानमा राखिदिने । गाउँ घरमा हट वाटर ब्याग छैन भने ढुङ्गालाई आगोमा तताएर त्यसलाई कपडामा राम्रोसँग बेरेर राख्नुपर्छ । ढुङ्गामात्रै राख्दा शरीर पोल्ने तथा ओच्छ्यानमा राख्दा पनि प्वाल पर्ने हुनसक्छ ।

दाल, दूध, आलु, हरियो सागसब्जी जेसुकैको पनि तातो झोलिलो सुप अनि खानामा पनि तातो रोटी, भात खाँदा त्यसले शरीरलाई भित्रबाट न्यानो बनाउने मात्र नभइ रोगसँग लड्ने क्षमता पनि दिन्छ ।

जाडोमा विशेष गरी छाती, टाउको तथा खुट्टालाई चिसोबाट जोगाउनु पर्छ । जसका लागि न्यानो लुगाहरु लगाउने गर्नुपर्छ । न्यानोका लागि महँगा लुगा नै चाहिन्छ भन्ने छैन फलाटिन, सुती आदिका बाक्ला कपडा लगाउन सकिन्छ ।

सुत्केरी तथा भर्खर जन्मेका बालबालिकाका लागि पानी परेको यो मौसममा मकलमा आगो बालेर घर भित्रै सेक्न, तेल लगाउन सकिन्छ ।

आगो बाल्ने अवस्था छैन भने तोरीको अथवा नरिवलको तेल तातो बनाएर बच्चाहरुलाई लगाइ दिन सकिन्छ । सेक्ने बेलामा भने कोठामा चिसो हावा आउन नदिने तथा सेकिसकेपछि भने थोरै हावा आउने गरी झ्याल ढोकामा प्वाल राख्ने अथवा थोरै खोल्ने गर्नुपर्छ ।

वृद्धवृद्धालाई पनि जाडोमा तोरीको तेल तातो बनाएर मसाज गर्न सकिन्छ । तोरीको तेलले नेपालीलाई एलर्जी हुन्छ भन्ने चाहिँ होइन । एकलाखमा एक जना हुनसक्ला त्यस्तो अवस्थामा अरु चिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ ।

तोरीको तेलले हातखुट्टा मसाज गर्दा त्यसले रक्त सञ्चार राम्रोसँग हुन्छ । जसले ऊर्जाका साथै न्यानो पनि हुने गर्छ । सुतीको टोपी तथा मोजा लगाइदिँदा पनि त्यसले चिसोबाट जोगाउन धेरै नै मद्दत गर्छ ।

सुत्केरी तथा गर्भवतीका लागि हामीकहाँ पहिलेदेखि नै विशेष खानपानको व्यवस्था गर्ने गरिन्छ । सुत्केरीका लागि त ३/४ पटक भात नै खान दिने गरिन्छ । तर, भात धेरै हुँदा मोटोपन बढ्ने हुँदा विभिन्न सुप, हलुवा आदि दिन सकिन्छ । तर, सुदूरपश्चिम तिर भने सुत्केरी महिलालाई हिउँ परेको बेलामा पनि छाउगोठमा अथवा गाइगोठमा राख्ने गरिन्छ । यस्तो बेलामा आमा तथा बच्चा समेत बिरामी हुनसक्ने हुन्छ ।

यस्ता कुसंस्कारलाई भने हटाउनु पर्छ । जहाँ सुत्केरीहरु हुन्छन् त्यहाँ भने तातो बनाएर राख्नुपर्छ । सफा पनि राख्नुपर्छ । तर, हावा नखेल्ने भने हुनुहुँदैन ।

सुत्केरीलाई तेल लगाउने हाम्रो चलन छँदैछ । तेल लगाउँदा शरीरमा आराम हुनुका साथै ऊर्जा प्रवाह पनि राम्रो हुने गर्छ । रक्त सञ्चार राम्रोसँग हुने गर्छ

रक्त सञ्चार राम्रो हुँदा आमाको दूध पनि राम्रोसँग आउँछ । जसले गर्दा बच्चालाई राम्रोसँग दूध खुवाउन सकिन्छ । आमाको दूध बच्चाको लागि सबैभन्दा राम्रो पोषण हो । आमाको दूधमा रोगसँग लड्न सक्ने क्षमता पनि भरपूर हुन्छ । साभार उज्यालो अनलाईनबाट

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​